११ भदौ, काठमाडौं । हिरासतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उनका समर्थकले स्वागत गरेका छन् ।
चितवन जिल्ला अदालतको आदेशमा रिहा भएका लामिछानेले समर्थकको साथ र मायालाई आत्मसात् गर्दै सञ्चारकर्ममा नै थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लामिछाने र उनका सहकर्मी युवराज कँडेललाई स्वागत गर्न सयौँ समर्थक नारायणी नदी किनारमा भेला भएका थिए । आफ्ना पक्षमा बोल्ने समर्थकलाई मंगलबार दिउँसो दुई बजे लामिछानेले सभामा धन्यवाद दिए ।
मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस विषयमा सार्वजनिक रूपमा आफ्ना प्रतिक्रिया राख्न नपाउने भनेर अदालतले रोक लगाएपछि उनले समर्थकको भूमिका र खराब राजनीतिबारे मात्रै बोलेका थिए । आफूले खेपेको मुद्दाबारे अहिले बोल्न नमिले पनि यस्तै मुद्दाका अन्य पीडितबारे आवाज उठाउने उनको भनाइ छ ।
‘निमुखाको पक्षमा बोल्छु’
गरिब र बेसहारा नागरिकको पक्षमा आवाज उठाउन आफूमा शक्ति थपिएको लामिछानेले बताए । उनले मंगलबार नै घाइते समर्थकलाई अस्पतालमा गएर भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । घाइतेको उपचार र पक्राउ परेका समर्थकको रिहाइको माग गरिने उनले प्रतिबद्धता पनि जनाए ।
जनप्रतिनिधिहरू इमानदार भए आफू सञ्चार क्षेत्रमै रहेर काम गर्ने बताए । ‘नीति निर्माणमा पुगेका मानिसलाई अझ बढी खबरदारी गर्दै जानेछौँ,’ उनले भने । कँडेलले पनि समर्थकले गरेको खबरदारी कहिल्यै नभुल्ने बताए । अदालतले आफूहरूलाई न्याय दिने विश्वास गर्दै उनले समर्थकको माया र साथबाट ऊर्जा मिलेको बताए ।
आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका लामिछानेलाई अदालतले पाँच लाख, कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा सोमबार साँझ रिहा गरेको थियो । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीहरूलाई चितवन प्रहरीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याएको थियो ।
निषेधाज्ञा आदेश फिर्ता
जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १० गते बिहान ६ बजेबाट लागू गरेको निषेधाज्ञा आदेश भदौ १० गते मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले फिर्ता भएको जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नौ गते अदालतको आदेशका कारण लामिछानेका समर्थकले शान्ति भाँड्न सक्ने भनी लगाएको निषेधाज्ञा आदेश फिर्ता लिएको बताएका हुन् । नयाँ पत्रिका दैनिकबाट