२४ भदौ, विराटनगर । फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दैछ ।
खेल ताइपेइको म्युन्सिपालिटी स्टेडियममा नेपाली समयानुसार अपरान्ह ४ बजेर ५५ मिनेटमा सुरु हुनेछ । यो खेलमा नेपाल कुनैपनि हालतमा अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रदैछ ।
विश्वकप छनौटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको नेपाल आज फरक रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक योहान कालिनले बताए ।
ताईपेइमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले यो खेलबाट अंक जोड्दै विश्वकप छनौटमा पूनरागमन गर्ने नेपालको लक्ष्य रहेको बताए ।
नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा चाईनिज ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।