विराटनगर, फागुन ७
नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सुनसरीका राजीव कोइराला निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर १ को कांग्रेस संसदीय दलका लागि नेताका लागि चन्द्रशेखर थापाले अन्तिम समयसम्म आएर उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
राजीब कोइराला परिवारका नजिकका नातेदार भएकाले पनि थापालाई उम्मेदवारी फिर्ता लिन दवाव परेको थियो । दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचन मार्फत नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।
आजै मोरङबाट प्रदेश सदस्यमा निर्वाचित केदार कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका थिए । आकांक्षी देखिएका कार्की र थापाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
तर, यसअघि कार्कीलाई दलको नेतामा प्रमुख दोवेदार मानिएको थियो । प्रदेश १ मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रदेशसभामा नेपाली कांग्रेसले २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ जना प्रदेशसभा सदस्य बनेका छन् ।