विराटनगर, फागुन ६
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले युवाहरुले विदेशमा गएर श्रम गर्ने कार्यको अन्त्य गर्नु पर्ने बताएका छन् । प्रदेश नम्बर १ को आर्थिक समृद्धिका लागि यूवाहरुले स्वदेशमै श्रम खर्चिनुपर्ने बताए ।
युवा संघ नेपालको प्रदेश १ को सचिवालय बैठकको विराटनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री राईले प्रदेशको विकास र समृद्धिका लागि यूवाहरुले स्वदेशमै श्रम खर्चिनुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री राईले अब आम यूवाहरुले अधिकारका लागि झण्डा लिएर सडक उत्रनु नपर्ने बताए । उनले सवैको ध्यान अव आन्दोलनमा नभई विकास र समृद्धिका लागि हुनुपर्ने बताए ।
प्रदेश नम्बर १ लाई भ्रष्टाचार मुक्त बनाईने बताउदै उनले कसैले भ्रष्टाचार गरेको थाहा पाए तत्कालै कारवाही गर्ने समेत चेतावनी दिए । यसैबीच सचिवालय बैठकले सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुले भोग्नु परेको ढिलासुस्ती भ्रष्टाचार लगायतका कु–संस्कारको अन्त्यका लागि खवरदारी गर्ने निर्णय गरेको युवा संघ मोरङका अध्यक्ष मुकेश वुढाथोकीले जानकारी दिए ।
कार्यक्रम यूवा संघले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग मन्त्री जगदीश कुसियैतलाई सम्मान गरेको थियो ।