४ कात्तिक, एजेन्सी ।
ब्रिटेनी सुपरमम पुनः गर्भवती भएकी छन् । २१ सन्तानकी आमा बनिसकेकी सुपरममका नामले चर्चित उनी अब २२ औँ बच्चालाई जन्म दिने क्रममा छिन् ।
ब्रिटेनको मोरेकैम्बेमा बसोबास गर्ने ४४ वर्षिया सू रैडफोर्ड र उनका ४८ वर्षका पति नोएलको परिवारलाई ब्रिटेनको सबैभन्दा ठूलो परिवार मानिन्छ । यूट्यूब भिडियो मार्फत रैडफोर्डले अल्ट्रासाउण्डको रिपोर्ट देखाउँदै आफू फेरि गर्भवती भएको जानकारी दिएकी छन् ।

सूका अनुसार उनको गर्भमा बच्चा बसेको १५ हप्ता भएको छ। उनले यसपटक छोरालाई जन्म दिन चाहेको बताएकी छन् । यदि छोरा भएमा उनका बच्चाहरुमा ११ छोरा र ११ छोरी हुनेछिन् ।
ब्रिटेनको सबैभन्दा ठूलो परिवार मानिने यो परिवारको खर्च पारिवारिक बेकरी बिजनेसले चल्ने गरेको छ । १० कोठाको घरमा परिवारका सबै सदस्य रहने गरेका छन् । पछिल्लो पटक सूले २०१८ मा बच्चा जन्माएकी थिइन् ।