सुनसरी, फागुन १४
विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र तथा देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र कोशीटप्पु बन्यजन्तु आरक्ष प्रति विशेष ध्यान दिन सरोकारवालाहरुले जोड दिएका छन ।
विश्वकै दुर्लभ बबुल प्रजातिको अर्नाका लागि संरक्षित काशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र अर्नाका लागिमात्र नभएर विश्वकै दुर्लभ प्रजातिका चरा तथा सरिसृप एवम पुतलीको समेत स्वर्गभूमि मानिन्छ ।
तर यति महत्वपूर्ण जीवजन्तुको संरक्षणस्थलप्रति राज्यको विशेष ध्यान जान नसकेको विषयमा पनि बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले कोशीटप्पु बन्यजन्तु आरक्षमा आयोजना गरेको बन्यजन्तु आरक्षण एवम समुदायको समृद्धि विषयक गोष्ठीका बक्ताहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन ।
कार्यकममा प्रतिनिधिसभा सांसद सूर्यनारायण यादवले कोशीटप्पु बन्यजन्तु आरक्ष नेपालको पूर्वी क्षेत्रमा रहेको महत्वपूर्ण पर्यटकीयस्थल हुँदाहुँदै पनि नेपालले अपेक्षाकृत उपलब्धी हाँसिल गर्न नसकेको बताए ।
यस्तै प्रदेश नम्वर १ का उद्योग पर्यटन तथा बातावरणमन्त्री जगदिशप्रसाद कुसियतले तीन जिल्लासँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदाबाट सरकारले अहिलेसम्म उचित उपलब्धि हासिल गर्न नसकेको बताए । उनले जे जस्तो अवस्था रहे पनि अव प्रदेश सरकारले कोशीटप्पुको उचित संरक्षण एवम विकासमा चासो राख्ने प्रतिबद्धता जनाए ।