काठमाडौं, चैत १
सत्तारुढ नेकपा माओवादी केन्द्रले न्यायालयलाई बचाउन अपिल गरेको छ । माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले न्यायालयलाई बचाउन गम्भिर भएर सोच्न संवैधानिक परिषद, न्यायपरिषद र संघीय संसदको ध्यानाकर्षण पनि गराए ।
बिहिबार नागरिकताको जन्ममिति र शैक्षिक योग्यताको प्रमाण पत्रको विवादमा तानिएका गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधिश पदबाट राजीनामा दिईरहँदा सांसद बिडारीले न्यायालय बचाउनुपर्ने बेला आएको प्रतिक्रिया दिएका हुन् ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद बिडारीले सर्वोच्च अदालतका न्यायाधिशहरु आफैं विवादमा तानिनु न्याय हराउनु भएको तर्क पनि गरे । उनले प्रधानन्यायाधिशमाथि बढि अधिकार भएको होकि भन्ने अनुभूति आफूलाई भएको प्रतिक्रिया पनि दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको फैसला मान्ने अवस्था नरहेको भन्दै दुःख व्यक्त गरे । उनले राजनीतिक नियुक्तिको आधारमा न्यायाधिश नियुक्ति गरिएका कारण न्यायालय आफै विवादमा तानिने अवस्था आएको तर्क पनि गरे । सर्वोच्च अदालत भित्र भ्रष्टाचारले जरा गाडेको पनि नेताहरुको आरोप छ ।