२४ माघ, रौतहट । जिउँदै मानिसलाई इँटाभट्टामा जलाएर ज्यान मारेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रौतहटका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दामा जिल्लाकै आदेशलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सदर गरिदिएको छ ।
त्यसैगरी सो मुद्दाको वादी नारायण सिंह राजपुतसहित नेपाल सरकारसमेतले मुद्दाको स्वच्छ सुनुवाई र साक्षी सुरक्षालगायतमा असर पर्ने भन्दै पर्सामा सार्न चाहेको वादी पक्षको मुद्दा भने खारेज भएको छ। मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीका तर्फबाट रौतहटका राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाई सार्न उच्च अदालत वीरगन्जमा निवेदन दिएका थिए।
त्यसैगरी, प्रतिवादी आलमले पनि रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेर कार्वाही गर्न दिएको निर्णय बदर गरी थुनामा नराखी मुद्दा चलाउन माग गरी उच्च अदालत अस्थायी इजलास वीरगन्जमा नै अर्को निवेदन दिएका थिए।
दुवै निवेदनउपर संयुक्त सुनुवाई गर्दै शुक्रबार वादीको निवेदन खारेज र प्रतिवादीको निवेदन उपर पनि जिल्लाको निर्णय नै सदर गर्ने आदेश भएको उच्च अदालत अस्थायी इजलास वीरगन्जले जनाएका छ ।