२९ फागुन, काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ ।
पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृतकका शव पठाउने काम नियमित रुपमा हुने भए पनि कन्सुलर सेवा भने आउँदो आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको दूतावासले जनाएको छ ।
यी कामका लागि फोन र इमेलबाट समय लिन सकिने छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएपछि सरकारले अस्थायी रुपमा कतारका लागि श्रम स्वीकृति दिन पनि बन्द गरेको छ । कतारले कोरोनाको संक्रमणको जोखिम घटाउन भन्दै अस्थायी रुपमा सरकारी तथा निजी शैक्षिक संस्थाहरु बन्द गरेको छ । कतारमा अहिलेसम्म २ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कतारमा झण्डै चार लाखको संख्यामा नेपाली रहे पनि अहिलेसम्म कसैलाई कोरोनाको संक्रमण भने भएको छैन । तर जोखिम उच्च रहेको भन्दै दूतावासले सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।
