४ चैत, काठमाडौं ।
चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले चिनियाँ दूतावासमार्फत नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।
नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।
चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तत्पर छौं ।
चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको बताए ।
नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो ।केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए ।