५ वैशाख, काठमाडौं । घरमा आमा बितेपछि भारतको धार्चुलास्थित बलुवाकोटको क्वारेन्टाइनमै कोरामा बसेका दार्चुला शैल्यशिखरका वासुदेव भट्टलाई घर फर्काउने प्रकृया नयाँदिल्लीमै अड्किएको छ ।
तीन दिनअघि आमाको मृत्यु भएपछि उनले अन्तिम संस्कार गर्न घर जान दिनुस् भनेर अनुरोध गरेका थिए । नेपाली अधिकारीहरूले उनको रोदन नसुनेपछि घरका जेठा छोरा उनले आमालाई दागबत्ती दिन पाएनन्। हिन्दु संस्कारअनुसार क्वारेन्टाइनमै कोरामा बस्न बाध्य भए ।
भट्टको घर र उनी किरियामा बसेको ठाउँको दूरी लगभग ५५ किलोमिटर जति रहेको छ । हिँडेर आउँदा पनि यो दूरी पार गर्ने तीन दिन लाग्दैन तर कोरामा बसेका वासुदेवलाई क्वारेन्टाइनबाट निस्कन कोसौं टाढाको नयाँदिल्लीले निर्णय गर्नु पर्नेछ । जुन निर्णय अझै दिल्लीबाट भइसकेको छैन ।
शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले भट्टलाई नेपाल ल्याउन पहल भइरहेको जानकारी दिए। उनले बुधबार नै जिल्ला प्रशासन कार्यालयमा उनलाई वारि ल्याउन पहल गरिदिन भनेका थिए ।
बुधबार नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढको डिस्ट्रिक म्याजिस्ट्रेटलाई पत्र पठायो। उक्त पत्रको जवाफ बिहीबारमात्रै आएको थियो ।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले पारिबाट अझै प्रक्रिया पूरा नभएको बताएको छ । डिस्ट्रिक्ट म्याजिस्ट्रेटले अनुमति दिए पनि नाका खोल्न भारतको गृह मन्त्रालयसँग अनुमति लिन पर्ने नाकामा रेहेका भारतीय सीमा सुरक्षा बलका कमान्डेन्टले बताएका छन् ।
वासुदेवसँगै क्वारेन्टाइनमा बसेका नेपालीहरूले आमा बित्दा पनि उनी घर जान नपाएको आक्रोश पोखेका छन् । यता नगरका प्रमुख धामीले वासुदेवलाई लिन जान आफू तयार रहेको बताएका छन् ।