९ वैशाख, एजेन्सी । कोरोना भाइरसविरूद्धको भ्याक्सिनको व्यवसायिक लडाईं जित्न चीनले कोरोना भाइरस संक्रमणको प्रारम्भिक संक्रमण तथ्यांक लुकाएको हुनसक्ने राष्ट्रपति ट्रम्पका सल्लाहकार पिटर नभारोले आरोप लगाएका छन् ।
गत वर्षको अन्त्यदेखि चीनको वुहान शहरबाट सुरु भएको महामारीबाट यतिबेला अमेरिका संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो । उसले सुरुदेखि नै चीनसँग यस महामारीको प्रारम्भिक तथ्यांक माग गर्दै आइरहेको छ।
चीनका कटु आलोचक नभारोलाई राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीसँग सम्बन्धित आपूर्तिमा काम गर्ने जिम्मेवारी दिएका छन्।
हालसम्म कोरोनाको कुनै निश्चित उपचार र भ्याक्सिन उपलब्ध छैन। त्यसैले संसारभरका वैज्ञानिक सबैभन्दा पहिलो यसको भ्याक्सिन बनाउने दौडमा रहेका छन्। यसमा शक्ति राष्ट्रहरूबीच चर्को प्रतिष्पर्धा चलिरहेको छ। यध्यपी हालसम्म कसैले सफलता प्राप्त गर्न सकिरहेका छैनन्।
यस महामारीले हालसम्म संसारभर १ लाख ६५ हजार बढी मानिसको ज्यान लिइसकेको छ भने २४ लाख बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ६० हजार नाघिसकेको बताइन्छ भने झण्डै ४२ हजार बढी मानिसहरूको यसबाट मृत्यु भइसकेको छ।
