१४ बैशाख, वीरगञ्ज । वीरगञ्जका आशंकीत दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमित हुनेको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएका दुवै जना वीरगञ्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो ।
दुवैजना नारायणी अस्पतालको आइसोलेसनमा छन् । अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीनजना जमाती छन् ।
संक्रमितमध्ये हालसम्म १२ जना निको भएर घर फर्किएको पनि मन्त्रालयका सह(प्रवक्ता अधिकारीले जानकारी दिए ।