विराटनगर, चैत १७
कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को आज विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो ।
संग्रहका विषयमा धारणा राख्दै कवि मनु मञ्जिलले भीष्म उप्रेतीको लेखन शैली आफैंमा लोभलाग्दो किसिमको भएको बताए । नेपाली कविता साहित्यमा उप्रेतीले आफ्नो छुट्टै पहिचान स्थापित गरेको उनको भनाइ थियो ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि सीमा आभासले ‘आधा उज्यालो’ सङ्ग्रहका कविताले पाठकलाई सहजै आकर्षित गर्ने बताए ।
उनले उप्रेतीका कविता पढ्दा रसबरी चपाएजस्तो महसुस हुने विचार राख्नुभयो । कार्यक्रममा कवि उप्रेतीले ‘मृगतृष्णा’, ‘पानी’, ‘स्वतन्त्रता’, ‘मित्र’, ‘पवित्र वागमती नदी’, ‘रहर’, ‘दृश्यचित्र’ र ‘भूल’ शीर्षकका कविता वाचन गरेका थिए ।
काठमाडौं बसेर साहित्य सिर्जनामा सक्रिय उप्रेतीका कविता, निबन्ध, नियात्रा र उपान्यास गरी १८ वटा कृति प्रकाशित छन् । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, कविराज न्यौपाने, नारायण तिवारीलगायतले सङ्ग्रहका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।