२१ वैशाख, बाँके ।
बाँकेको नरैनापुर र नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सङ्कलन गरिएको धर्मगुरुको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नरैनापुरबाट ३१ मौलाना र सात पुजारीसहित ५६ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरबाट पुजारीसहित ४० र मेडिकल कलेजबाट तीन जनाको स्वाब परीक्षण गरिएकामा सबै नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अब शनिबार सङ्कलित नेपालगञ्जमा कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ जनाको पनि स्वाब संकलन गरिएको छ । ९० जनाको स्वाब रिपोर्ट आउन बाँकी छ । यसमा कोरोना सङ्क्रमित व्यक्तिका घरपरिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिसमेत छन् ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । आइतबार नै उनीहरुको कोरोना रिपोर्ट आउने छ ।
सो टोलमा कोरोना संक्रमित व्यक्ति दैनिक मस्जिद तथा मदरसामा आएको देखिएकाले त्यहाँ रहेका ७८ जनालाई टोललाई नै एकान्तबास बनाएर राखिएको छ । स्थानीय प्रशासनले शुक्रबार रातिदेखि नै सो टोललाई बन्द गरेको छ । अब १४ दिनसम्म टोलभित्र आवतजावत ठप्प गराइएको छ ।
सङ्क्रमितका परिवार र आफन्त आठ जनालाई शनिबार नै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ ।(रासस)