३० वैशाख, कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा ९ जनाको स्वाब संकलन गरिएकोमा २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममास्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन । संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् ।
उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिन थालेको हो ।