३ जेष्ठ, एजेन्सी ।
भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दुईवटा ट्रक आपसमा ठोक्किँदा २४ मजदूरको निधन भएको छ।
दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् । बिहान करिब ३ बजेर ३० मिनेट जाँदा घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किन पुगेको थियो । प्रहरीका अनुसार दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो ।
सो ट्रकसँग राजस्थानबाट आएको ट्रक ठोक्किन पुगेको थियो । राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएको कारण दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार राजस्थानबाट आएको ट्रकमा चुनाको बोरा पनि थियो । दुर्घटनापछि ट्रक पल्टियो र मजदुरहरु चुनाको बोरामा दबिए । सो ट्रक राजस्थानबाट पश्चिम बंगाल जाँदै थियो ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिँदै जिल्ला प्रशासनका अधिकारीहरुलाई तत्काल घटनास्थल गएर प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन् ।
दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनका बिच आफ्नो घर जाने प्रयासमा थिए । शनिबार बिहान दुर्घटना भएको हो । अहिले उद्धार तथा राहतको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।