३ जेष्ठ, विराटनगर ।
प्रदेश १ मा पनि एकजना पत्रकारमा कोरोना संक्रमण देखिएपछि यस क्षेत्रका पत्रकार थप जोखिममा देखिएका छन् ।
संक्रमित पत्रकार समाचार संकलनका क्रममा उदयपुरको भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा परीक्षण गरिएको थियो । संक्रमित पत्रकार काठमाडौंबाट संचालन हुने टेलिभिजनका उदयपुर संवाददाता हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पत्रकारलाई प्रदेश सरकारले स्थापना गरेको कोशी कोरोना अस्पताल विराटनगरमा ल्याइएको छ।
संक्रमित पत्रकारले दुई दिन अघि जिल्ला समन्वय समिति उदयपुरका प्रमुखसंग अन्तरवार्ता तथा केही दिन अघि उदयपुरको भुल्के निरीक्षण, अनुगमनमा गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत सहभागि कार्यक्रमको समेत रिपोर्टिङ गरेको उदयपुरका स्थानीय पत्रकारहरुले जनाएका छन् ।
यसअघि त्रियुगा नपाको वडा नम्बर ३ भुल्केमा कोरोनाका १२ जना जमातीसहित ३३ जनामा कोरोना देखिएको थियो । संक्रमित मध्ये १७ जना उपचारपछि फर्किसकेको कोशी कोभिड १९ विशेष अस्पतालले जनाएको छ । कोरोनाको त्रासका बीच फ्रन्टलाइनमा काम गरिरहेका पत्रकारको स्वाव परीक्षण मोरङमा पनि सुरु भएको छ ।