४ जेष्ठ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशमा ९६ जना गैर आवासीय नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
शनिवारसम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको हो ।
बेलायतपछि बढी मृत्यु हुने देशमा अमेरिका छ । अमेरिकामा १५ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएको एनआरएनएले जनाएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहरुमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।
विश्वभर नेपालबाहेक संक्रमित हुनेमा ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।
११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ ।