४ जेष्ठ, काठमाडौँ ।
भारतले नेपाल सरकारलाई कोरोनाभाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ ।
भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको छ । नेपालकालागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट उपलब्ध गराएका हुन् ।
माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ । पीसीआर किट बुझ्दै मन्त्री ढकालले आफैपनि अप्ठेरो परिस्थितिमा रहेको बेलामा समेत सहयोग गरेकोमा आभार व्यक्त गरे ।

उनले कोरोनाभाइरस विरुद्धको लडाईमा भारतले सहयोग गरिरहेको सम्झदै अन्य औषधिजन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन समेत राजदूत क्वात्रालाई आग्रह गरे । भारतले गत वैशाख १० गते कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।