५ जेष्ठ, विराटनगर । विराटनगरका औषधि व्यावसायी देवीप्रसाद दुलालको हत्या आरोपमा श्रीमती र अर्का एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करिब ६ वर्षयता विराटनगर १० मधुमारामा माँ देवी पाथिभरा फर्मा सञ्चालन गर्दै आइरहेका सुनसरी खनारका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा श्रीमती मीना श्रेष्ठ दुलाल र अर्का व्यक्ती ब्रम्हदेव साहलाई प्रहरीले पक्राउ गरेको हो । ब्रम्हदेव साह लहान घर भई विराटनगर बस्दै आएका थिए ।
प्रहरीका अनुसार हत्याको मुख्य कारण श्रीमती मिना र साहको अबैध सम्बन्ध रहेकोे खुलेको छ । अबैध सम्बन्धका बारेमा दुलालले थाहा पाएपछि श्रीमती र प्रेमी साहले मिलेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले श्रीमतीको अवैध सम्बन्धका कारण प्रेमी साहसंगको संलग्नतामा दुलालको हत्या गरिएको थाहा पाएपछि अर्का एक व्यक्तीलाई नियन्त्रणमा लिइएको बताए । उनले घटना बारे थप अनुसन्धान गरिरेहको बताउँदै दवैलाई आज पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने समेत बताएका छन् ।
शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुवैजना राति करिब नौं बजे दुलालको डेराबाट निस्किएका थिए ।
रातको समयमा प्रेमी साह डेरा छेउमा लुकेर बसेका थिए । दुई जना निस्किएपछि दुलाल सुतेका थिए । सुतेको समयमा राति दुईजनाको संलग्नतामा हत्या भएको प्रहरीको निष्कर्ष छ ।
दुलालको हत्यामा डोरी प्रयोग गरी भएको थियो । उनको घाँटीमा डोरीले बेरेको निलडाम छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा चोट लागेको देखिएको छ ।
श्रीमती मिनाको भनाई अनुसार राति करिव पौने ३ बजे उठेर हेर्दा अचेत भेटिएपछि छिमेकी र अन्य साथीलाई बोलाएर अस्पताल पूर्याएका थिए ।
हत्यापछि भागेका साहले हत्यामा प्रयोग भएको डोरी न्यूरो अस्पताल नजिकै रहेको झाडीमा फालेका थिए । प्रहरीले डोरी पनि फेला पारेको छ ।

