६ जेष्ठ, दोहा । साउदीमा कोरोना भाइरसको संक्रमणबाट चार जना नेपालीको मृत्यु भएको छ । त्यस्तै ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।
साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदीका विभिन्न ठाउँमा अहिलेसम्म ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीलाई सङ्क्रमण भएको दूतावासले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमितमध्ये ११ जना महिला र बाँकी पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै जना निको भएर काममा फर्केको दूताबासले जनाएको छ । दूतावासका अनुसार यो खाडीमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।
मृत्यु हुनेको विवरण भने दूताबासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।
मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदीमा कर्फ्यु लाग्ने भएको छ । साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो ।
कर्फ्यु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीको जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
यस समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यु समयको पूर्ण पालना गर्न साउदीमा रहेका नेपाली श्रमिकलाई दूतावासको अनुरोध छ ।