१२ जेष्ठ, सप्तरी ।
सप्तरीमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । गत जेठ २ गते भारतबाट आएका उनीहरु आफनै पालिकाको क्वारेन्टाइनमा बस्दै आएको यादवले बताए ।
संक्रमण पुष्टि भएपछि उनीहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइँदै छ । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ४ पुगेको छ । यसअघि जिल्लाका डाकनेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमणको पुुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य प्रमुख यादवका अनुसार भारतबाट पछिल्लो समय आउनेहरुको क्रम बढेकोले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ । अहिले १ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
यसैबीच अब राजविराजमै पीसीआर परीक्षण हुने भएको छ । प्रदेश सरकारले राजविराजमा पीसीआर प्रविधिबाट परीक्षण गर्ने मेसिन उपलब्ध गराएको र एक दुई दिनमा जडान गरिएपछि स्थानीयस्तरमै स्वाब परीक्षण हुने गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।