१२ जेष्ठ, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका–३ मा सोमबार पुष्टि भएका कोरोना संक्रमित निजी एम्बुलेन्स सञ्चालक रहेको नगरपालिकाले जनाएको छ ।
३७ वर्षीय उनले लकडाउनको अवधिमा आफ्नो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्दै आएका थिए । लकडाउनको अवधिमा अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्याउने, राहत बाँड्ने काममा सक्रिय थिए,’ नगर प्रवक्ता नवराज भट्टराईले भने, डाइलसिस गर्नुपर्ने बिरामी, गर्भवतीलगायतलाई अस्पताल पुर्याउने काम गर्दै आएका थिए ।’
नगरपालिकाले जेठ ८ र ९ गते १ सय १ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जसमध्ये ६० जनाको नतिजा नेगेटिभ र एक जनाको नतिजा पोजिटिभ आएको हो,’ उनले भने, ४० जनाको नतिजा आउन बाँकी छ ।’
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिसकेको उनले बताए । उनलाई अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै छ ।