१२ जेष्ठ, सिमकोट ।
कर्णाली प्रदेशमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार आएको नयाँ रिपोर्ट अनुसार कर्णालीमा सातजना थपिएका हुन् । उनीहरु सबैको प्रदेश अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि आइतबार नेपालगञ्जमा पाँच जनाको र प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा दुईजनाको स्वाब पठाइएको थियो ।
त्यसमा पनि सबैको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ कोरोना पुष्टि भएका सबै दैलेख जिल्लाका रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए । ती मध्ये नेपाललगञ्जबाट पुष्टि भएकामा दैलेख जिल्लाको नारायण नगरपालिकाका वर्ष १५ र २८ का पुरुष रहेका छन् ।
यस्तै ढुङ्गेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा २५ वर्षकी महिला रहेकी छन् । दैलेखकै गुराँस गाउँपालिकाका २४ र ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई प्रदेश अस्पतालको कोरोना विशेष वार्डको आइसोलेशनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको जानकारी गराइएको छ ।
यस अघि दैलखका एक जना र सुर्खेतबा तीन जना गरि चार जनामा कोरोना देखिएको थियो । योसहित कर्णालीमा कोरोना संक्रमित संख्या ११ पुगेको छ ।