१३ जेष्ठ, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण ओरालो लाग्ने क्रममा रहेका देशमा पुनः महामारीको दोस्रो लहर आउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आग्रह गरेको छ ।
संक्रमण फैलिन नदिन वा नियन्त्रणमा लिनका लागि अपनाइएका उपायहरुमा अति चाँडो छुट दिन थालिएमा महामारीको दोस्रो लहर अति चाँडै आउने भन्दै डब्लुएचओले चेतावनी दिएको हो ।
डब्लुएचओको आपतकालीन सेवा प्रमुख डा. माइक रायनले जेनेभामा भएको अनलाइन ब्रिफिङ्गको क्रममा सोमबार विश्व अहिले पनि कोरोना भाइरस महामारीको पहिलो लहरको मध्यमा रहेको बताएका हुन् । युरोप तथा उत्तर अमेरिकाका धेरै देशमा संक्रमण ओरालो लाग्ने क्रममा रहे पनि मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा संक्रमण उकालो लाग्ने क्रममा रहेको उनले बताए ।
डा. रायनका अनुसार सामान्यतया महामारी चरण–चरणमा फैलिने भएकाले अहिले महामारी नियन्त्रणमा आउने क्रममा रहेका देशमा यो वर्षको अन्त्यतिर पुनः दोस्रो लहर सुरु हुन सक्ने बताए । कोराना भाइरसको महामारीको पहिलो लहर नियन्त्रणका लागि अपनाइएका उपायहरु बिना कुनै सावधानी चाँडै नै हटाइएमा दोस्रो लहर सुरु हुने र त्यो अति चाँडो उच्च तहमा पुग्न सक्ने भएकाले सचेत रहन डा. रायनले अपिल गरेका छन् ।
उनले भनेका छन्, हामीले लगातार महामारीको दोस्रो लहर आउन सक्ने बताउँदै आएका छौँ । अहिले महामारी कम हुँदै गएका देशमा पनि सावधानी अपनाइएन भने दोस्रो लहरको महामारी सुरु हुन सक्ने छ र त्यो अहिलेको भन्दा भयावह हुने सक्ने छ ।’
कुनै पनि बेला महामारीले आफ्नो भयावह रुप देखाउन सक्ने भएकाले सबै हिसाबले तयार रहनु पर्ने उनले बताएका छन् । युरोप तथा उत्तर अमेरिकाका देशहरुले सार्वजनिक स्वास्थ्यका लागि सामाजिक दूरी, निगरानी, परीक्षणसहित विस्तृत रणनीतिक योजना बनाएर काम गर्नु पर्ने उनले बताए ।