१५ जेठ, काठमाडौँ ।
सरकारले स्थानीयतहमा १ सय ३० वटा औद्योगिकग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधिन व्यापारिक करिडोरलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न र स्थानीयतहमा थप १ सय ३० वटा औद्योगिकग्राम स्थापना गर्न २ अर्ब ६४ करोड विनियोजन गरिएको बताए ।
सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राममा स्थापना हुने उद्योगलाई कर प्रणाली मार्फत प्रोत्साहन गर्ने भएको छ । यसैगरी स्वदेशी वस्तुको उपभोग गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न कपास उन, रेसम, अल्लो र वनस्पतिजन्य धागो उत्पादन र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गरी राज्यकोषबाट खर्च व्यवहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकहरुको पोसाक जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री खतिवडाले बताए ।
सबै प्रदेशमा कम्तिमा एक औद्योगिक क्षेत्र स्थापना गर्न सुरु गरिएका औद्योगिक क्षेत्रको पूर्वाधारलाई अघि बढाइने, रुग्ण तथा बन्द उद्योगलाई नीजि क्षेत्र समेतको सहभागितामा थप लगानी, नविन प्रविधिको प्रयोग, र व्यवसायीक व्यवस्थापनको माध्यमबाट पुनरुस्थान गरिने उनले बताए । आगामी वर्ष नवलपरासीको धौवादीफलाम खानीबाट उत्पादन सुरु गर्न पहुँचमार्ग निर्माण र मेसेनरी कार्य सम्पन्न गर्ने, सुर्खेतमा बहुमुल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गर्ने, दैलेख र अन्य सम्भाव्य स्थानमा पेट्रोलको उत्खनन गरिने उनले बताए ।
यसैगरी सुन, तामा, युरेनियम र फलाम लगायतका सम्भाव्य खनिज वस्तुको अन्वेषण तथा व्यवसायीक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने, बैतडी र बझाङमा रासायनिक मलमा प्रयोग हुने फस्फोराइड अन्वेषण तथा उदयपुरको कम्पुघाटमा म्याग्नेसाइटको विस्तृत अध्ययन अर्थमन्त्री खतिवडाले बताए । औषधि, स्वास्थ्य सामग्री एवं कच्चापदार्थ प्रयोग गरी आन्तरिक उत्पादन वृद्धि गर्न सामूहिक ट्रेड मार्ग प्रयोग गर्न पाउने व्यवस्था गर्दै सबै प्रदेशमा गुणस्तर तथा नापतौल कार्यालय स्थापना गरिने भएको छ ।
सरकारले वैदेशिक व्यपारमा देखिएको अवरोधलाई अन्त्य गर्दै विलासी, स्वास्थ्य र वातावरणिय दृष्टिले हानीगर्ने वस्तुलाई निरुत्साहित गर्ने भएको छ । कमतौल उच्चमूल्य र तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका वस्तुको पहिचान गरी निर्यात प्रवद्र्धन गर्न कर सहुलियत तथा थप नगद दिइ प्रोत्साहन गर्ने भएको छ । नेपालगञ्ज र भैरहवाका सीमानामा एकीकृत जाँचभन्सार चौकी स्थापना गर्दै आगामी वर्ष चोभार र टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गरिने अर्थमन्त्री खतिवडाले बताए । यसैगरी हुम्लाको यारी, मुस्ताङको कोरला संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोलामा व्यापार पूर्वाधार विकास कार्य अगाडी बढाइने छ ।
सरकारले संघ र प्रदेशमा गरी ३ लाख १० हजार क्षमताको भण्डारण गृह निर्माण र व्यवसायीक विक्रि केन्द्र स्थापनागरिने भएको छ । सबै स्थानीयतहमा खाद्य भण्डार स्थापना गर्न प्रोत्साहन गर्दै खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गरी मापदण्ड नपुगेका वस्तुको आयातमा बन्देज लगाउनुका साथै अन्तर्राष्ट्रिय नाकामा क्वारेन्टाइन जाँचको व्यवस्था मिलाइने उनले बताए । आपूर्ति व्यवस्थालाई सहज बनाइ राख्न खाद्यन्न इनधन लगायत वस्तुको पर्याप्त मौज्दात राख्ने, स्वास्थ्य सजगता अपनाएर विक्रिवितरण गर्ने, होम डेलिभरी सेवालाई प्रोत्साहित गर्ने, बजार अनुगमनलाई सघन बनाउँदै अनुचित मूल्य वृद्धि, कृत्रिम अभाव र कलोबजारी नियन्त्रण गर्ने व्यवस्था गर्दै उपभोक्ता हित संरक्षणमा जोड दिइने अर्थमन्त्री खतिवडाले बताए । नेपाल आयल निगममार्फत पेट्रोलियम पाइपलाइन विस्तार, पेट्रोलियम भण्डारण र ग्यास बोटलिङ प्लान्ट स्थापना गर्ने र छिमेकी मुलुकसँगको वाणिज्य तथा व्यापार सन्धीको पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात सहज बनाइने उनले बताए । सरकारले चीन सँगको पारवहन सम्झौताअन्तरर्गत नेपालले प्रयोग गर्न पाउने ४ सामुद्रिक र तीन स्थल बन्दरगाहको उपयोग गरी तेस्रो मुलुकसँगको ब्यापार विस्तार गर्न आवश्यक कानूनी व्यवस्थ गर्ने भएको छ ।