२० जेष्ठ, विराटनगर ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितमध्ये १८ जना निको भएका छन् ।
उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । १८ जनामध्ये एक जना धरानकी महिला र बाँकी झापाका रहेका छन् ।
कोरोनालाई जित्न सफल भएका उनीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, कोरोना फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले बिदाइ गरेका थिए ।
प्रतिष्ठानको आइसोलेसनमा बाँकी रहेका ८० संक्रमितहरु उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।