२२ जेष्ठ, काठमाडौं ।
उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।
राजधानीमा उद्योगी–व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।
विद्यालय–विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा–सम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।
तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ ।
केही बेरमा तीनवटै प्रशासनका तर्फबाट पारित भएको निर्णय अनुमोदनका लागि गृह मन्त्रालयमार्फत सीसीएमसी र उच्च्सतरीय समितिमा पठाइने ती अधिकारीले बताए । चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग–कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् ।
जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग–कलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।
