२६ जेष्ठ, काठमाडौं ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
सांसदहरुको दवावको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाई गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
सोमबार काठमाडौंको माइतिघरमा गरेको विरोध सभामा नेविसंघका पूर्व अध्यक्षएवं नेपालीकांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई गर्दा घटनालाई लुकाई पीडकहरुलाई उन्मुक्ति दिने खतरा बढेको बताए ।
उनले राज्य पक्षबाट पीडकहरुलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्यायदिनको लागि सदन र सडक दुवै ठाउँबाट दवाव दिनुपरेको बताए । पीडितहरुलाई न्याय पाउने कुरामा मानव अधिकारकर्मी, राजनीतिकदल सबैले सदन र सडकबाट दवाव दिनुपर्ने पौडेलले बताए ।

विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरु समेत सहभागी भएका थिए ।