२८ जेष्ठ, काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिका–४ भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरूषको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
सर्पले टोकेका ती पुरूषलाई मंगलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरूषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए। बिरामी ती पुरूष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।
बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि औपचारिक रूपमा जानकारी नभएको निर्देशक डा. खड्काले बताए।
निर्देशक खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको भन्दै सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिइरहेको सबै सेवा बन्द हुनसक्ने चेतावनी दिएका छन्। क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा यो समस्या उत्पन्न भएको जनाउँदै उनले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।
बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनुपर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको स्वीकार गरेका छन्। बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना संक्रमण फैलिने सम्भावना छ। (रासस)
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
