५ असार, बाजुरा ।
जेठ ३० गते बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए ।
आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले बताए । आत्महत्या भए पनि कोरोना हुन सक्छ भन्ने आशंकामा पुरै प्रकृया पूरा गरेर शवको व्यवस्थापन गरेको उनले बताए ।
बाजुराको बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरुषले बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको बडुवालले बताए ।
बडुवालले भने–‘आर्थिक अवस्था निकै कमजोर थियो,गरिबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौँ । तर, यकिन कारण अझै खुलेको छैन ।’
अहिले उनको परिवारका सदस्यहरु क्वारेन्टिनमै बसिरहेका छन् ।