५ असार, पोखरा । गण्डकी प्रदेशका कास्की, नवलपरासी, बाग्लुङ र स्याङ्जामा गरी २४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा छ, बागलुङमा १४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र स्याङ्जामा दुई दुई जना सङ्क्रमित थपिएका छन् ।
कास्कीमा सङ्क्रमितमा पोखरा महानगरपालिकाका तीन जना पुरुष र दुई महिला तथा रुपा गाउँपालिकाका एक पुरुष छन् ।
त्यसैगरी बागलुङमा गलकोट नगरपालिकाका ६ पुरुष, दुई महिला, काठेखोला गाउँपालिकाका ६ पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक पुरुष र पालिका नखुलेको एक पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका दुई पुरुषमा सङ्क्रमण फेला परेको जनाइएको छ ।
नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ ।
पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३४८ पुगेको छ ।
हालसम्म स्याङ्जामा ७५, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ९९, बागलुङमा ५६, पर्वतमा ३८, गोर्खामा ३६, तनहुँमा २६, कास्कीमा १३, म्याग्दीमा तीन तथा लमजुङ र मनाङमा एक÷एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्येमा २० जना महिला छन् ।
हालसम्म ३४ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।