योगेन्द्र योगी
८ असार, दोहा ।
कोरोना सङ्क्रमण कारण कुवेत सरकारले दिएको आममाफी पाएका १ हजार २ सय १४ जना नेपाली जजिरा एयरको ८ वटा उडान मार्फत काठमाडौं पुगिसकेका छन् ।
गत जेठ २९ गते पहिलो दुई उडान मार्फत २९९ नेपाली स्वदेश ल्याइदिएको थियो। जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते हरेक दिन १५० जना र असार ७ गते १६६ जना नेपाली पुर्याइदिएकाे हो ।
कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भाई हाल कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार आममाफी पाई स्वदेश फर्कने नेपालीहरूलाई दूतावासका कूटनीतिक कर्मचारीको नेतृत्वको टोलिले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई तथा प्रस्थानपूर्व आवश्यक सहयोग र सहजीकरणको कार्य गर्दै आएको जनाएको छ ।
क्याम्पहरूमा रहेका बाँकी नेपालीलाई पनि नेपाल तथा कुवेत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरी क्रमशः स्वदेश फर्काउँदै लगिने र यथाशीघ्र यो प्रक्रियालाई टुङ्ग्याउने कार्यमा दूतावास क्रियाशील रहेको जनाएको छ ।
अतः क्याम्पमा रहेका र क्याम्प बाहिर रहेका बिभिन्न कम्पनी तथा अन्य क्षेत्रमा कार्य गरी नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीलाई पनि शीघ्र नेपाल फर्काउन दूतावासले सम्बन्धित निकायहरूसँग परामर्श र समन्वय गरी रहेको जनाएकाे छ । चाँडै उडान शुरू गर्न सघाउ पुर्याउने उद्देश्यले संभावित यात्रुहरूको नामावली समेत दूतावासले प्रकाशित गरेको साथै छुटेकाहरूको नामावली पनि क्रमशः प्रकाशित गरिँदै लगिने जनाएको छ ।
आममाफी पाएका २ हजार ९ सय ९३ जनालाई कुवेत सरकारले २ महिना अगाडिदेखि छुट्टै सेल्टरमा राख्दै आएको थियो। कुवेत सरकारले आफैँ जहाज चार्टर गरी उनीहरुलाई नेपाल पुर्याइ दिएको छ । सेल्टरमा अब १ हजार ७ सय ७९ नेपाली स्वदेश फर्कने पर्खिरहेका छन् भने आज पनि नेपाली लिएर जजिरा एयर काठमाडौँको लागि उडेको छ ।