८ असार, तिलोत्तमा । गत जेठ २६ गते रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा मारिएकाहरुको पोस्टमार्टमपछिको भिसेराको रिपोर्ट १३ दिन पुगिसक्दा समेत आएको छैन ।
रिपोर्ट अझै नआएको र आफूहरुले प्रयोगशालामा आग्रह गरिरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एवं छानबिन टोलीका प्रमुख प्रहरी वरिष्ठ नायब उपरीक्षक राजकुमार बैदावरले बताएका छन् ।
तिलोत्तमा–१० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा काम गर्ने रूपन्देहीकै सैनामैना–५, दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशिष चौधरीको गत जेठ २६ गते हत्या भएको थियो ।
हत्या भएको दोस्रो दिन मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गरी भिसेराको नमुना काठमाडौंस्थित प्रहरी विधि प्रयोगशालामा पठाइएको थियो । हत्याको अरोपमा प्रहरीले सोही कृषि फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिञ्जालीलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका सिञ्जालीको जिल्ला अदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
भिसेरा रिपोर्ट आएपछि हत्या अरोपमा मुद्दा चलाइएका सिञ्जाली माथिको आरोप प्रमाणित गर्न थप प्रमाण पुग्न सक्ने आशा प्रहरीको छ । प्रारम्भीक अनुसन्धानमा सिञ्जालीले आफ्नो चरित्र हत्या गर्ने र काममा ठगी गरेको आरोप लगाउने गरेकाले त्यही रिसको आवेगमा हत्या गरेको स्वीकार गरेका छन् ।