१३ असार, बुटवल ।
पाल्पामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको हो । ३३ र ३६ वर्षीय पुरुष सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि पाल्पामा दुई सैनिकका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित हुने सैनिकको संख्या ४५ पुगेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ । १८ गते पूर्वखोलाको जल्पास्थित क्वारेन्टाइनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थियो ।
उनको जेठ २० गते मृत्यु भएको थियो । जेठ २२ गते कार्यविधिअनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेसनमा राखिएको गणले जनाएको छ ।
पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।