१९ असार, धनुषा ।
धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा झडप भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो । दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको प्रहरले जनाएको छ । भीड तितरबितर बनाउन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
बर्थिङ सेन्टर निर्माणको विषयमा झडप हुँदा २ जना घाइते भएको र उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरीको टोली पठाइएको छ ।
शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ ।