२० असार, एजेन्सी ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ ।
परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको हो । यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले मिलेर बनाइरहेका छन् । आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण पूरा भए १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधरणका लागि उपलब्ध गराउन सकिने जनाएको छ ।
क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले गएको २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए ।
पत्रमा डाक्टर भार्गवले लेखेका छन्, ‘कोरोना रोकथामको लागि आईसीएमआरको माध्यमबाट बनाइएको खोपको फास्ट ट्रयाक परीक्षणको लागि भारत बायोटेक कम्पनीसँग एक सम्झौता गरिएको छ । कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर यो खोप बनाइएको हो ।’
‘क्लिनिकल परीक्षणपछि आईसीएमआर १५ अगस्टसम्म सर्वसाधरणमा यो खोप पुर्याउन चाहन्छ । भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरिरहेको छ । तर यो खोपको सफलता क्लिनिकल परीक्षणको लागि चुनिएको संस्थानको सहयोगमा निर्भर रहन्छ ।’
महाराष्ट्र सरकारको माध्यमबाट बनाइएको कोरोना टास्क फोर्सका सदस्य डाक्टर शशांक जोशी भन्छन्, ‘यति कम समयमा खोप बनाउनु लगभग असम्भव छ । सामान्यतया एक खोप बनाउन दुई वर्ष लाग्छ । यदि फास्ट ट्रयाकबाट पनि प्रयास गर्दा कम्तीमा १२ देखि १८ महिना लाग्छ । त्यसअघि खोप बनाउनु असम्भव छ ।’
इण्डियन कलेज अफ पिजिसियनसँग जोडिएका डाक्टर शशांक जोशी आईसीएमआरको पत्रलाई लिएर हैरान भएको बताउँछन् । उनी भन्छन्, ‘१५ अगस्टसम्म कोरोना भाइरसको खोप बनाउने आईसीएमआरको निर्णय आश्चर्यपूर्ण छ । यसो गर्दै गर्दा मानिसको सुरक्षाको र खोपको क्षमताको बारेमा गहन अध्ययन हुनुपर्छ ।
आईसीएमआरले यो घोषणा गर्नुअघि आवश्यक सुरक्षा मानकको पूरा ख्याल राखेको छ भन्ने मलाई विश्वास छ । यदि यी सबै कुरालाई ध्यानमा राखेर खोप बनाइरहेको भए हामी यसको स्वागत गर्छौँ ।’
स्वास्थ्य विशेषज्ञ र इन्टरनेशनल एसोसिएशन अफ् बायोएथिक्सका पूर्वअध्यक्ष डाक्टर अनन्त भान पनि आईसीएमआरको योजनालाई लिएर हैरान छन् । उनी भन्छन्, ‘खोपले अहिलेसम्म प्रि–क्लिनिकल परीक्षण विकास चरण पूरा नगरेको भए खोपलाई क्लिनिकल परीक्षणको लागि ७ जुलाईसम्म रजिस्ट्रर गर्न सकिन्छ ।
यो खोप बजारमा १५ अगस्टसम्म कसरी उपलब्ध गराउन सकिन्छ ? के एक महिनाभन्दा कम समयमा खोपसँग जोडिएको सबै परीक्षण गर्न सकिन्छ ? के उनीहरुले पहिले नै खोपको गुणवत्ताको बारेमा राय बनाएका छन् ?’
भारत बायोटेकको तयारी
आईसीएमआरले चिठी पठाउनुअघि बीबसीका संवाददाताले बायोटेककी म्यानेजिङ डाइरेक्टर सुचित्रा एलासँग कुराकानी गरेका थिए ।
कुराकानीको क्रममा सुचित्रा एलाले भनेकी थिइन्, ‘मानव क्लिनिकल परीक्षणको पहिलो फेजमा एक हजार मानिसलाई चुनिने छ । यसको लागि सबै अन्तर्राष्ट्रिय गाइडलाइन्सको पालना गरिनेछ । स्वयंसेवी चुन्दा पनि विशेष ध्यान पुर्याइने छ, कोरोना सङ्क्रमण नभएकाहरुलाई देशभरिबाट छानिनेछ ।
उनीहरुमा कस्तो प्रतिक्रिया भयो, त्यो थाहा पाउन कम्तीमा ३० दिन लाग्छ ।’ उनले भनिन्, ‘भौगोलिक स्थितिले पनि असर पार्न सक्छ, यसको लागि हामीले पूरै भारतबाट मानिसहरुलाई चुनेका छौँ । पहिलो फेजको आँकडा जम्मा गर्न ४५ देखि ६० दिन लाग्छ । रगतको स्याम्पल लिएपछि परीक्षणको दर कम गर्न सकिँदैन ।
परीक्षणको नतिजा हामीसँग आइपुग्न १५ दिन लाग्छ ।’ हैदराबादमा रहेको भारत बायोटेक कम्पनीको माध्यमबाट बनाइरहेको कोरोना खोपको नाम Covaxin’ (कोभ्याक्सिन) हो ।