२३ असार, पाल्पा ।
कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् ।
रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिए। एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतकका बुवा तराईमा बस्दै आएका छन् । आमा बेपत्ता भएको वर्षौं भैसकेको छ ।
पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।