२५ असार काठमाडौँ ।
नियम अनुसार भर्ना प्रक्रिया पूरा गरी जिम्मेवारी सम्हालेका आफ्ना सैनिकको विषयमा पछिल्लो समयमा सामाजिक सञ्जालमा भ्रामक र नकारात्मक टिकाटिप्पणीप्रति नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सेनाले विज्ञप्ति जारी गर्दै सेनाले दुई तस्बिर पोष्ट गरी भएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सामाजिक सञ्जालमा भाइरल भएका ती दुई व्यक्तिको तस्बिरको वास्तविक परिचय समेत सेनाले खुलाएको छ ।
उनीहरु २०७६ साल पुस १ गतेदेखि २०७७ साल असार १९ गतेसम्म भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणमा सञ्चालन भएको सैन्य आधार तालिम पूरा गरेका रुपन्देही स्थायी ठेगाना भएका सिपाही सम्झना थारु र कपिलवस्तु स्थायी ठेगाना भएका सिपाही सुवास थारु भएको सेनाले जनाएको छ ।
सेनाले उनीहरुको उचाईको सम्बन्धमा समेत स्पष्ट पारेको छ । सम्झनाको उचाई ५ फिट १ ईन्च र सुवास थारुको उचाई ५ फिट १० इन्च रहेको सेनाले प्रष्ट पारेको छ ।
सेनाले भर्ना छनौट निर्देशिका २०७१ मा तोकिएको मापदण्ड बमोजिमका शर्तहरु पूरा गरी नेपाली सेनामा छनौट भएका सैन्यहरुको वास्तविकतालाई तोडमोड गरी अतिरञ्जित तरिकाले गरिएको प्रचार–प्रसारको भ्रममा नपर्न समेत सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुसमक्ष हार्दिक अनुरोध गरेको छ ।
केही दिनयता सामाजिक सञ्जालमा ती तस्बिर पोष्ट गरी सेनामा भर्ना हुने सैनिक उचाई मापदण्डका बारेमा विभिन्न टिकाटिप्पणी हुँदै आएको थियो ।
