२७ असार, डोल्पा ।
हिमाली जिल्ला डोल्पामा पनि सलह किरा पुगेको छ ।
रुकुम र जाजरकोटमा पर्ने सिमावर्ती क्षेत्रमा पुगेको केही दिनमै डोल्पामा पनि सलहको बथान नै आइपुगेको हो । जिल्लाको मुड्केचुला गाउँपालिका,जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिकामा सलह देखिएको छ ।
सलहले डोल्पामा मकै र आलु बारीमा क्षति पुर्याएको कृषकहरुले गुनासो गरेका छन् । तल्लो भेगमा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा सबैभन्दा धेरै सलह किराको बथान देखिएकाले क्षति पनि धेरै पुर्याएको स्थानीयले बताए । भदौ महिनामा पाक्ने गरि रोपिएका मकै बारीमै पुगेर सखाप पार्न थालेपछि कृषक चिन्तित भएका छन् ।
सुरुसुरुमा फाट्फुट देखिएपनि बिहीबार बिहानैदेखि ठुलो झुण्डमा आलु र मकै बारीमा पसेर सबै खाएपछि कृषकहरु चिन्तित भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले जानकारी दिए ।
हजारौंको संख्यामा आएका सलहलाई भाँडाकुँडी बजाएर भगाउन खोज्जा समेत नगएकोे कृषकहरुले दुखेसो पोखे । अहिले जगदुल्ला र मुड्केचुलाका कृषकहरु बारीमै बसेर सलह किरा धपाउन थालेका छन् ।