३१ असार, विराटनगर। प्रदेश १ मा समुदाय स्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ ।
पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ । समुदायमा संक्रमण छैन । तर, प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने,‘ क्वारेन्टिनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवस्यक देखियो ।’
कोरोना उपचार केन्द्र र क्वारेन्टिनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उनले बताए ।
कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले बताए । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण देखिएन उनले भने । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी शुरु गरिएको उनले बताए ।
उनले भने,‘निजि अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ ।’
स्वास्थ्यकर्मीको परीक्षण पछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेले बताए । परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको भनाई छ ।
मन्त्री घिमिरेले भने,‘ क्वारेन्टाईनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदा सम्म परीक्षण गर्ने काम भईरहेको छ ।’
प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दोक्रममा रहेको मन्त्री घिमिरेले बताए । उनले भने, ‘प्रदेश १ को अवस्था भयाभह छैन ।’ भारत लगायतका तेश्रो मुलकबाट आउनेहरुमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताए ।