११ साउन, काठमाडौं ।
अगामी मंगलबारदेखि मध्य र पश्चिम नेपालका नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
खासगरी तराईका भूभागमा हुने मध्यम तथा भारी वर्षाका कारण त्यहाँका नदीमा बाढी आउने जनाइएको छ। महाशाखाले बागमती, नारायणी, तिनाउ, पश्तिम राप्ती, बबई, कर्णाली र महाकालीमा बाढी आउने जनाएको छ। ती नदीका सहायक नदीमा पनि पानीको सतह बढ्ने छ।
यी नदीमा पानीको सतह सतर्कता विन्दु आसपास वा केही माथि हुनेछ। तर, खतराको विन्दुमा भने नपुग्ने जनाइएको छ। ती नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। कन्काई, कमला लगायत नदीमा पनि आकस्मिक बाढीको सम्भावना छ।
ती नदीमा पानीको सतह सतर्कता विन्दुभन्दा तलै रहनेछ। खासगरी प्रदेश ५ र सुदूरपश्चिममा भारी वर्षा हुने जनाइएको छ। ५० मिलिमिटरभन्दा बढी पानी पर्दा भारी वर्षा भनिन्छ। भारी वर्षामा बाढी र पहिरोको संभावना बढी हुन्छ।
यसअघि गएको ५ साउनमा नारायणी नदीमा ४१ वर्षयताकै ठूलो बाढी आएको थियो। पूर्वी राप्तीमा आएको बाढीले चितवनको सौरहा पनि डुबानमा परेको थियो।