११ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभरिका विद्यालय अब खोल्नु पर्ने बताएका छन्।
तर, उनकै छोरा पढ्ने विद्यालयले भने ट्रम्पको निर्देशन अस्वीकार गरेको छ। ट्रम्पका छोरा पढ्ने वासिङ्टनको मेरिल्याण्डस्थित सेन्ट एन्ड्रयूज इपिस्कोपालले विद्यालय खोल्ने गरी वातावरण सहज नभएको जनाएको छ। साथै सेप्टेम्बर यता खोल्न नसक्ने पनि बताएको छ।
तर, ट्रम्पले भने बारम्बार विद्यालय खोलेर बालबालिकालाई बोलाउनु पर्ने बताइरहेका छन्। ट्रम्पले भनेका छन्, “पाँच करोड विद्यार्थीलाई अनिश्चितकालसम्म विद्यालय जानबाट रोक्न सकिँदैन। यदी उनीहरुलाई रोकिन्छ भने मानसिक, शारीरिक र भावनात्मक विकासमा हानी पुग्छ।” विद्यालय खुल्यो भने अभिभावक पनि काममा जान पाउने उनले बताएका छन्।
ट्रम्पले चेतावनी दिँदै अब खुला नगरे त्यस्ता विद्यालयका सबै सम्पत्ति फिर्ता लिने बताएका छन्। तर, सेन्ट एन्ड्रयू इपिस्कोपाल विद्यालयका प्रमुख रोबर्ट कासस्की र सहायक प्रमुख डेबिड ब्राइनले विद्यालय खोल्नेबारे १० अगस्टमा बैठक बोलाएको जनाएका छन्।
सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म खोल्न नसक्ने पनि उनीहरुले जनाएका छन्। यस्तै गएको बिहीबार एक संस्थाले गरेको मत सर्बेक्षणमा ६० प्रतिशत प्राथमिक विद्यालयले विस्तारै खुल्न मन्जुरी जनाएका छन्। तर, धेरै अभिभावकले भने सुरक्षाको सुनिश्चितता भएपछि मात्र विद्यालय पठाउने जनाएका छन्।
उता शिक्षक संघका एक नेताले भनेका छन्, “जसरी ट्रम्पले विद्यालय खोल्न दबाब दिइरहेका छन्, त्यो देख्दा लाग्छ कि सबैभन्दा पहिला उनैलाई विद्यालय बोलाउनुपर्छ।” त्यसपछि ट्रम्पलाई पनि विद्यालय खोल्न नहुने अवगत हुने उनले बताएका छन्।