योगेन्द्र योगी
१३ साउन, दोहा ।
काठमाडौँको सामाखुसीमा रहेको एसआरके नेपाल मेनपावर मार्फत बिगत १८ महिना अघि कुवेत पुगेर अलपत्र परेका ३३ जना नेपाली कामदारलाई सृजनशील युवा समाज कुवेतले खाद्यान्न सहयोग गरेको छ ।
कुवेतको अल राकिव कम्पनीमा कार्यरत अलपत्र नेपाली कामदारहरुलाई राहत लिएर सृजनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर धामी लगायत अन्य सदस्यहरु कोठामै आएको पिडितहरुले बताएका छन् ।
म्यानपावर कम्पनीले उद्धार गर्न आग्रह गरे पनि कुनै पहल नगरेकोले आफूहरुको अबस्था दयनीय बताउँदै विभिन्न संचार माध्यममा खबर प्रकाशित भएको तथा सृजनशिल युवा समाजले गरेको पहलको कारण मेनपावर कम्पनीले र सम्बन्धित निकायले चासो राखेको उनीहरुले बताएका छन् ।
सृजनशील युवा समाजले पिडितहरुको समस्या कुवेतस्थित नेपाली दूतावासमा पुगेर राखेको समेत बताएका छन् भने पिडितहरुले लेवरकोटमा पनि उजुरी गरिसकेको जनाएका छन् ।
यसअघि पीडितहरुले कुवेतमा पाँच महिनादेखि कम्पनीले तलब नदिएको कारण आफूहरु समस्यामा परेको गुनासो गरेका थिए । कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिएकाे उनीहरुको भनाइ छ ।
कम्पनी प्रशासनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको पिडितहरुले बताएका छन् । सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको हो ।