१३ साउन, रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोमा दुई जना बेपत्ता भएका छन् ।
चार जनाको उद्धार गरिएको छ । पहिरोले हस्तबहादुर सुनारको घर बगाउँदा छिमेकी २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनार सम्पर्कविहीन भएका हुन् ।
राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।
हस्तबहादुरकी आमा ६० वर्षकी झुपी र श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको उद्धार गरिएको हो । अहिले हराएकाहरुको खोजी भइरहेको छ ।
यसैबीच पहिरोले बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का डिलबहादुर परियार र बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् ।