१३ साउन, विराटनगर ।
विराटनगर महानगरपालिकामा कोरोनाभाइरस (कोभिड–१९) को थप १८ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार १८ जनामा संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा संक्रमण फैलिएको भन्दै महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । महानगरपालिकाका कोभिड १९ फोकलपर्सन हैदर अलीका अनुसार कोशी अस्पतालको ल्याबबाट आएको रिपोर्ट अनुसार १३ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो।
महानगरको विभिन्न वडाका ८ जना, विराटनगर अस्पतालमा कार्यरत ७ जना, झापाको २ जनामा संक्रमण देखिएको हो । त्यसैगरि अर्को एकजना संक्रमितको रिपोर्टमा ठेगाना मोरङ विराटनगर मात्र लेखिएको हुनाले पहिचान हुने क्रममा रहेको अलीले जानकारी दिए।
महानगरपालिकाभित्र पहिचान भएका ८ जनामध्ये १ जना होम क्वारेन्टाइनमा बस्दै आएका ब्यक्ती भएको महानगरले जनाएको छ।
यसअघि आइतबार विराटनगरमा एकैपटक १९ जना प्रहरीमा सक्रमण पुष्टि भएको थियो।
विराटनगरमा हालसम्म ६७ जना संक्रमति पुष्टि भइसकेको छ।