१५ साउन, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रुपाखेतीलाई काठमाडौं फिर्ता बोलाएको छ । माडीको कुसुमखोलाको चेपाङ बस्तीमा आगजनी घटना र सैनिकको कुटपिटबाट राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार चेपाङको ज्यान गएपछि निकुञ्ज विवादमा परेको थियो ।
रुपाखेतीलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै निकुञ्ज प्रमुख बनाएर पठाएका थिए । चितवन घटनाबारे संघीय संसद्को प्रतिनिधि सभाका संसदीय समितिमाहरुमासमेत छलफल भएको छ । समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानवीय त्रुटिका कारण आगजनी भएको सकारेका थिए । त्यसअघि भने उनले गोठमा आगलागी भएको बताएका थिए ।
अब मन्त्रालयले बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बराललाई प्रमुखका रुपमा पठाउने भएको छ । स्रोतका अनुसार बर्दियामा भने निकुञ्ज विभागका योजना प्रमुख विषणुप्रसाद श्रेष्ठलाई पठाइएको छ ।