१८ साउन, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाका कार्यकर्ता सहभागी थिए । झडपमा परी १० जना प्रदर्शनकारी र केही प्रहरी जवान घाइते भएका छन् ।
नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईले भ्रष्टचारको छानविन गर्न माग गर्दै गरिएको विरोध प्रदर्शनमा प्रहरी दमन भएको बताए । उनले उपमेयरले उठाएको भ्रष्टाचारको विषयमाथि छानबिन हुनुपर्ने माग गरे ।
यसअघि उपमेयर राजकुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार भएको र त्यसबारे आफूले पटकपटक कुरा उठाउँदा पनि सम्बोधन नभएको भन्दै राजीनामा दिने घोषणा गरेकी थिइन्।
पछि पार्टीको नगर सचिवालय बैठकमा उनले राजीनामा फिर्ता लिने जनाइन्।