१९ साउन, नेपालगञ्ज ।
नेपालगञ्जमा उपमहानगरपालिकाका एक अधिकृत र एक वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा वडाध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृतलाई कोरोना देखिएको हो । उनीहरुको साउन १६ गते नेपालगञ्ज उपमहानगरपालिकामा स्वाब लिइएको थियो ।
कोरोना देखिएका वडाध्यक्षलाई केही दिनदेखि ज्वरो आइरहेको थियो । अधिकृतलाई कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।
नेपालगञ्जमा कोरोना समुदायस्तरमा फैलिएको छ । जिल्ला अदालत, नेपाली सेना, आन्तरिक राजश्व कार्यालयका अधिकृतहरुलाई कोरोना देखा परिसकेको छ । प्रहरी, जिल्ला कारागारका थुनुवा, प्रहरी कार्यालयका थुनुवा, आर्मी अस्पतालका नेपाली सेनालाई कोरोना देखिसकेको छ ।
योसँगै मिठाई पसलमा काम गर्ने, आन्तरिक राजश्व र अदालतका अरु कर्मचारी, कामको खोजी त्रिभुवनचोक आउने मजदुरलगायतलाई कोरोना देखिएपछि बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
यसैबिच सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का एकजना डिस्चार्ज भएका छन् । उनलाई घर पठाउने तयारी भएको छ । बाँकेमा ४ सय ४६ जनामा कोरोना देखिएको छ । ३ सय ८८ जना डिस्चार्ज भएका छन् ।